खराब ब्याटिङले नेपाललाई फेरि डुबायो, नामिबियासँग ४० रनले पराजित

क्रिकेट

काठमाडौं : आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्ड टुरमा रहेको नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको हो ।

स्कटल्याण्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १८० रन बनायो । नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ४ चौका प्रहार गरे ।

त्यस्तै देव खनालले ३४ रन बनाउँदा करण केसीले १९ तथा कुशल भुर्तेलले २७ रनको योगदान गरे । बलिङतर्फ नामिबियाका लागि बेर्नाड सोलेज्ड, डेभिड विस र जान फ्राइलिन्कले समान दुई–दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २२० रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लोफ्टी स्टोनले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै डिभान ला कोकले ४१ रन बनाउँदा ग्ररार्ड इर्मुसले २२ रनको योगदान गरे । नामिबियाका कार्गी विलियम्सले २१ रन बनाउँदा डेभिड विस र लोहान्ड्रे लोरेन्सले १८–१८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । जितसँगै लिग टू को अङ्क तालिकामा नेपाल १७ खेलमा १५ अङ्क जोडेर पाँचौँ स्थानमा छ । नामिबिया १६ खेलमा १६ अङ्क जोडेर छैटौँ स्थानमा छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0