रोनाल्डोको दिन सकियो, ३० प्रतिशत मुल्य घटाउँदा पनि कसैले लिन मानेनन्

समाचार

काठमाडौं : प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड नयाँ सिजनको सुरुआतअघि प्रि–सिजनको अभ्यास क्याम्प तथा मैत्रीपूर्ण खेलमा व्यस्त छ। तर, युनाइटेडका पोर्चुगिज भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने अझै क्लबमा फर्केका छैनन्। रोनाल्डोको भविष्यलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएको छ। रोनाल्डो आफैं युनाइटेडको प्रि–सिजन टूरमा सामेल नभएर अन्यत्र क्लब खोजिरहेका छन्।

क्लबले भने रोनाल्डो व्यक्तिगत कारणले बिदामा रहेको बताएको छ। तर, रोनाल्डोले युनाइटेडसँगको प्रि–सिजन टूरमा भाग नलिनुमा आश्चर्य छ। ‘परिस्थिति गत हप्ता जस्तै छ। सायद चिन्तित हुनु सही होइन। म यहाँ रहेका खेलाडीहरूमा ध्यान केन्द्रित गर्दैछु, जो धेरै राम्रो गरिरहेका छन्, जो राम्रो अवस्थामा छन् र म त्यसमा ध्यान दिनेछु,’ प्रशिक्षक एरिक टेन ह्याग भन्छन्।

उनले थपे,‘रोनाल्डो आउँछन् कि भनेर म पर्खन सक्दिनँ। तर, यदि उसले गर्छ भने, हामी उसलाई टोलीमा समावेश गर्नेछौं।’ रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसलगायत प्रतिनिधि विगत केही सातायता च्याम्पियन्स लिगमा खेल्न सक्ने टोलीको खोजीमा छन्। स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई उनको सम्भावित गन्तव्यको रूपमा औंल्याइएको छ।

तर, उनको निकास त्यति सहज भने छैन। एकातिर युनाइटेड आफ्नो शीर्ष खेलाडीलाई यस स्थानान्तरण बजारमा छोड्न अनुमति दिन चाहँदैन। अर्को समस्या रोनाल्डोको तलब हुनेछ। स्पेनिस समाचारमाध्यमहरुका अनुसार रोनाल्डोले हप्तामा ४३५,००० युरो पारिश्रमिक पाउँछन्, जुन रकम धेरै टोलीका लागि खर्च गर्न गाह्रो छ। यद्यपि, रोनाल्डो एट्लेटिकोमा सामेल हुन आफ्नो तलब ३० प्रतिशतसम्म घटाउन इच्छुक रहेको समाचारहरु पनि प्रकाशित भइरहेका छन्।

रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्। पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका रोनाल्डो अर्को सिजन पनि युरोपको यस शीर्ष प्रतियोगिता खेल्न चाहन्छन्। तर, उनको क्लब युरोपा लिगमा छ। त्यसैले रोनाल्डोले गत सिजन सकिएलगत्तै आफ्नो लागि अन्य विकल्प खोज्न आफ्नो टिमलाई भनेका थिए।

ट्रान्सफर विन्डो सुरुआतसँगै चेल्सीले रोनाल्डो अनुबन्ध गर्ने इच्छा जाहेर गरेको थियो। तर, अन्त्यमा मुख्य प्रशिक्षक थोमस टुचेलले रोनाल्डो आफ्नो योजनामा अटाउन नसक्ने बताएपछि चेल्सी पछि हटेको थियो। यता, जर्मन क्लब बायर्न म्युनिखको बोर्ड पनि रोनाल्डो अनुबन्ध गर्नु क्लबको पद्दति अनुसार नहुने भन्दै पछि हटेको थियो।

यसै साता पूर्वक्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोबीच क्लब फर्कनेबारे छलफल भएको थियो। तर, रोनाल्डो नभित्र्याउने योजनामा पेरेज रहेको बताइन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0