जाँदाजाँदै पुबुदु दसानायकेले खोले नेपाली टिमको पोल, अब के हुन्छ ?

समाचार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दसानायकेले नेपाली टिमभित्र ‘गुटबन्दी’ भएको खुलासा गरेका छन्। गत बुधबार पदबाट राजीनामा घोषणा गरेका पुबुदुले पारिवारिक कारणले आफू क्यानडा फर्कन लागेको बताएका थिए। त्यसैदिन उनी क्यानडाको प्रशिक्षक नियुक्त भएको सार्वजनिक भएको थियो।

पुबुदु आइतबार विहान क्यानडा पुगिसकेका छन्। पुबुदुले क्रिक इन्फोसँगको अन्तर्वार्तामा परिवारलाई समय दिन क्यानडा फर्किएको लागेको उल्लेख गरेका छन्। साथै उनले नेपाली टिम भित्रको अवस्थाको बारेमा पनि खुलेर बोलेका छन्।

उनले आफू सन् २०११ मा आउदा जस्तोको टिम अहिले नभएको बताएका छन्। अहिले नेपाली टिमभित्र ‘धेरै साना समूह’ भएको बताउँदै पुबुदुले खेलाडीको सोच फरक भएको समेत खुलाएका छन्। पुबुदु गत पुसमा दोस्रो कार्यकालको लागि प्रशिक्षक बनेर नेपाल आउँदा नेपाल क्रिकेट संघ (क्यान) र सिनियर खेलाडीबीच चर्को विवाद भएको थियो।

खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै सेतोपाटीमा अन्तर्वार्ता दिएकै भरमा क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, तथा बलरद्वय सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो।

स्पष्टीकरण चित्त नबुझेपछि क्यानले ज्ञानेन्द्रको कप्तान र दीपेन्द्रको उपकप्तान पद खोसेको थियो भने चारै जना खेलाडीलाई ६ महिनाको तलब नदिने निर्णय गरेको थियो। पछि तलब नदिने निर्णयमा क्यान पछि हटे पनि ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णयमा क्यान अडिक रहको थियो।

पुबुदुले आफ्नो दोस्रो कार्यकालमा खेलाडी र क्यानबीचको चर्को विवादलाई सहज बनाउनको लागि महत्त्वपूर्ण समय र ऊर्जा खर्चन परेको थियो। जसका कारण उनको ध्यान खेलमा भन्दा बढी अरु कुरामा गएको थियो।

पुबुदले भनेका छन्, ‘जब म [२०११ देखि २०१५ सम्म] नेपालमा थिएँ, टिममा कुनै समस्या थिएन। खेलाडीहरू एउटै टोली थिए र जित्नमा धेरै केन्द्रित थिए, खेल जित्नको लागि आफ्नो २०० प्रतिशत दिएर खेल्थे। यसपाली मैले धेरै साना समूहहरू देखेको छु। सोच बिल्कुलै फरक थियो। कुनै बेला यसले नेपालको खेललाई यसले पनि असर गरेको थियो। जे होस्, म पक्का छैन। क्रिकेट खेल्नमा ध्यान थिएन। वरिपरि अन्य धेरै समस्याहरू थिए। यो स्पष्ट गर्न केही समय लाग्यो।’

पुबुदुले अघि भनेका छन्, ‘जब हामी टी-२० विश्वकप छनोटको लागि ओमानमा थियौं, उत्कृष्ट प्रदर्शन गर्न सफल भयौं। त्यसपछि विभन्न देशको भ्रमणका दौरान राष्ट्रिय टिमलाई सही ट्र्याकमा ल्याउन धेरै काम गर्‍यौं। यो राष्ट्रिय टोली हो र हामीले देशका लागि खेलहरू जित्न सँगै खेल्नुपर्छ। त्यसैले मलाई लाग्छ एक युवा टिम र एक युवा कप्तानको साथ छोटो अवधिमा लामो यात्रा गरेका छौं। तर नेपालले अझै लामो यात्रा तय गर्नु छ।’

विभिन्न समस्याका बावजुद नेपाली टिममा प्रतिभावान खेलाडी भएकाले नेपालको भविष्य राम्रो भएको उनको भनाइ छ। आफू नेपाल आउँदा खेलाडी र क्यानबीच विवाद भए पनि कुनै वार्ता नभएको अवस्था भएको उनले बताए।’खेलाडी र क्यानबीच कुनै वास्तविक संवाद थिएन। दुवै पक्ष धेरै कुरामा धेरै अडिग थिए। म मध्यस्थता गर्न सक्षम थिए किनभने खेलाडीसँग पनि नजिक थिए। मलाई ठिक लागेको काम गर्न क्यानले छुट दिएको थियो। क्यान धेरै सहयोगी थियो,’ उनको भनाइ छ।

पुबुदु पहिलो कार्यकालमा भने नेपालका लागि सफल प्रशिक्षक हुन्। ५२ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए।

सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।

पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।  नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए। उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए।

सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ को एकदिवसीय विश्वकप खेलेको थियो। श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन्। पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुबुले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट समेत खेलेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0