फेरि बोले अलमुताईरी ! सिनियरसँग भन्दा यु-२० खेलाडीसँगै काम गर्ने ईच्छा

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाँडै यू–२० टिमका खेलाडीसँग काम गर्न उत्साहित रहेको बताएका छन् । नेपालमा अल्मुताइरीको भविष्यलाई लिएर प्रश्न उठिरहेको अवस्थामा उनले बुधबार बिहान चाँडै नेपाली युवा टोलीसँग काम गर्न उत्साहित रहेको बताएका हुन् ।

“सकरात्मक र नकरात्मक पक्षसहित यू–२० साफ कप समाप्त भएको छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भनेको भविष्यमा नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने युवा प्रतिभाहरू जन्मिएका छन्,” अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, “चाँडोभन्दा चाँडो तपाईंहरूसँग काम गर्न उत्साहित छु । अब साफ च्याम्पियनसिपका नराम्रो भावना बिर्सनुपर्छ र गल्तीबाट सिक्ने र त्यसलाई सुधार गर्नमा ध्यानकेन्द्रित गर्न आवश्यक छ ।”

पटक–पटक विवादमा आउने अल्मुताइरीको एएफसी एसिया कप छनोट प्रतियोगिताअघि राष्ट्रिय टोलीका सिनियर खेलाडीसँग खटपट परेको थियो । उनले राष्ट्रिय टोलीका १२ खेलाडीलाई टिमबाट बाहिर राख्दै छनोट प्रतियोगिताका लागि टिम बनाएका थिए । खेलाडी र अल्मुताइरीबीचको विवाद समाधान गर्न बनाइएको समस्या पहिचान र सिफारिस कार्यदलले गएको जेठ ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियन कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सिफरिस गरेको थियो ।

यसबीचमा एन्फामा नेतृत्व परिवर्तन भइसकेको छ । जोसँग अल्मुताइरीको ‘टसल’ भएको उनै पंकजविक्रम नेम्वाङ अहिले एन्फा नेतृत्वमा छन् । नेम्वाङ निर्वाचित भएपछि असार ८ गते बसेको कार्यसमितिको पहिलो बैठकमा अल्मुताइरीबारे निर्णय लिन सचिवालयलाई जिम्मेवरी दिइएको छ । यद्यपि, अहिलेसम्म कुनै ठोस निर्णय हुनसकेको छैन ।

खेलाडी संघले पनि अल्मुताइरीको विकल्प खोज्न संघलाई दबाब दिएको थियो । तर, एन्फा नेतृत्व पदाधिकारी भागबन्डामा अल्झिएर बसेको छ । यहीबीच अल्मुताइरीले भने चाँडै नेपालल फर्किएने संकेत दिएका छन् । “हामीसँग अर्को महिना सिनियर टोलीको मैत्रीपूर्ण खेल भएनन् भने म एएफसी यू–२० कप छनोट प्रतियोगितामा तपाईंहरूको खेल हेर्न बहराइनमा आउनेछु,” स्वास्थ्य समस्याका कारण तीन महिना बिदामा रहेका अल्मुताइरीले लेखेका छन्, “मलाई तपाईंहरूप्रति गर्व छ ।”

नेपाली युवा टोली भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ । मंगलबार लिगको अन्तिम खेलमा नेपाल बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो । त्यसपछि सम्पन्न अर्को खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराएपछि नेपालको यात्रा लिग चरणबाटै टुंगिएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0