फेरि आक्रोशित बने अलमुताईरी, चरित्रहत्या गर्नेलाई नछोड्ने

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताईरीले एन्फाले पहिल्यै पठाएको भनिएको पत्र आफुले आज पाएको बताएका छन् । सञ्चारमाध्यमले आफ्नो बारे भ्रामक समाचार प्रकाशित गरेको उनको गुनासो छ । यसअघि एन्फाका महासचिव किरण राईलाई उद्रृत गर्दै एन्फाले प्रशिक्षक–खेलाडी विवाद समाधान गर्न गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अल्मुताईरीसँग जवाफ मागेको र उनले कुनै पनि उत्तर नफर्काइ सिधै मैत्रिपूर्ण खेलका लागि व्यवस्थापन गर्नु भनेर अनुरोध गरेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएका थिए । त्यसको प्रतिउत्तरमा अल्मुताईरीले आफ्नो प्रतिकृया सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनी लेख्छन्,‘मैले विभिन्न नेपाली मिडियामा मेरो बारेमा गलत सुचना प्रबाह गरेको पाएँ । म यो प्रष्ट पार्न चाहान्छु कि मैले एन्फाबाट कुनै पनि पत्र आज साँझसम्म पाएको थिइनँ । त्यसैले कुनै पनि जवाफ दिनु मेरा सम्भव थिएन । यद्यपि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्न लागेको कुरामा म जानकार भने थिएँ । त्यसैका लागि मैले महासचिवलाई खेलका बारेमा जानकारी गराउन अगष्ट ८ मा पत्र लेखेको थिएँ।

यस्तो भ्रामक समाचार देखेपछि मैले नेपाली समय लगभग ५ः३० तिर कुनै पनि त्यस्तो जवाफ मागेको पत्र नआएको भन्दै महासचिवलाई इमेल पठाएँ । त्यसको केही समयमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट मलाई प्रश्न बनाइँदैछ भने इमेल पाएँ । र, एक घण्टा पछि मैले पत्र पाएँ ।

मिडियामा एन्फाको श्रोतले बताएअनुसार मैले उत्तर नदिएको भनेर लेखिएको थियो । त्यस्तो कुनै आधार नभएको समाचार मलाई ठिक लागेन । मैले उत्कृष्ट नेपाली राष्ट्रिय टिम निर्माण गर्न मेरो पुरै क्षमताको प्रयोग गरेको छु । र, म मेरो सम्झौता नसकिउञ्जेल सम्म नेपालको प्रशिक्षण सम्हाल्न चाहन्छु । यद्यपि एन्फाका कुनै श्रोतले गलत समाचार दिएर मेरो चरित्रहत्या गर्न खोजिरहेको छन् ।

म यस्तो गलत कार्य सहन सक्दिन । त्यसैले म आवश्यक परेको खण्डमा फिफा र एएफसीलगायत उच्च निकाय पनि जान तत्पर छु । म सबैलाई यो जानकारी गराउन चाहन्छु कि मलाई एन्फाबाट स्पष्टीकरणका लागि आज पठाइएको पत्रमा जवाफ दिन कुनै पनि अन्तिम मिति तोकिएको छैन । यो मुद्दा समाधानका लागि मैले लगत्तै जेनेभामा रहेका मेरा वकिलसँग कुरा गरेको छु । त्यसैले वकिलसँगको सल्लाहपछि मात्रै म एन्फाको प्रश्नको उत्तर दिनेछु ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0