एसिया कपमा अफगानिस्तानसँग श्रीलंका स्तब्ध

क्रिकेट

काठमाडौँ । एसिया कपमा अफगानिस्तानले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न भएको एशिया कपको उद्घाटन खेलमा अफगानिस्तानले समूह बी को खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको हो । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकाले दिएको १०६ रनको लक्ष्यलाई अफगानिस्तानले १०.१ ओभरमा २ विकेट गुमाउदै पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले १९.४ ओभरमा अलआउट हुदै १०५ रन मात्र बनाएको थियो ।

अफगानिस्तानको टी–२० मा श्रीलंकाविरुद्धको पहिलो जित हो । दुई टोलीबीचको यो दोस्रो टी–२० खेल थियो । यसअघि २०१६ मा कोलकातामा यी दुईबीच एकमात्र टी–२० खेलिएको थियो । त्यसपछि श्रीलंकाले खेल ६ विकेटले जित्यो । आईसीसीको वरियतामा हेर्ने हो भने श्रीलंका आठौं र अफगानिस्तान दशौं स्थानमा छ ।

श्रीलंकाका लागि तीन ब्याट्सम्यानले मात्रै दोहोरो अंक छुन सके । भानुका राजापाक्षेले सर्वाधिक ३८ रन बनाए भने चमिका करुणारत्नेले ३८ बलमा ३१ र दनुष्का गुणातिलकाले १७ बलमा १७ रन बनाएका थिए । श्रीलंकाका ओपनर पाथुम निसान्का तीन र कुशल मेन्डिसले दुई रन बनाएर आउट भए । योसँगै तेस्रो नम्बरमा रहेका असालान्काले खाता खोल्न सकेनन् ।

यसरी शीर्ष क्रमका तीन ब्याट्सम्यानले पाँच रन मात्र बनाए । कप्तान दासुन शनाका र महिश टिक्षाना पनि शून्य रनमा आउट भए । मथिशा पाथिरानाले पाँच, वानिन्दु हसरंगाले दुई र दिलशान मदुशंकाले अविजित एक रन बनाए । अफगानिस्तानका लागि फजलबाक फारुकीले ३.४ ओभरमा ११ रन दिएर तीन विकेट लिए । मुजिब उर रहमान र कप्तान मोहम्मद नाबीले दुई–दुई सफलता हात पारे । नविन उल हकले एक विकेट लिए । राशिद खानले भने कुनै विकेट नलिए पनि ४ ओभरमा केवल ११ रन दिएका थिए ।

अफगानिस्तानले १०.१ ओभरमा १०६ रनको लक्ष्य पुरा गरेको थियो । उनका ओपनर रहमानउल्लाह गुरबाज र हजरतुल्लाह जाजाईले उत्कृष्ट शुरुवात गर्दै ६.१ ओभरमा ८३ रनको साझेदारी गरेका थिए । गुरबाज आउट हुने पहिलो ब्याट्सम्यान बने । उनले १८ बलमा ४० रन बनाएर वानिन्दु हसरंगाले बोल्ड गरे। गुरबाजले तीन चौका र चार छक्का प्रहार गरे । उनको स्ट्राइक रेट २२२.२२ थियो। जाजई २८ बलमा ३७ रनमा अविजित रहे । इब्राहिम जद्रानले १५ र नजिबुल्लाह जाद्रानले अविजित दुई रन बनाए । अफगानिस्तानको दोस्रो खेल ३० अगस्टमा बंगलादेशसँग हुनेछ । यससँगै श्रीलंकाले पनि आफ्नो दोस्रो खेल सेप्टेम्बर १ मा बंगलादेशसँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0