एसिया कपमा आज चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको भिडन्त

क्रिकेट

काठमाडौं । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधैँ रोमाञ्चक हुने गर्छ । कारण हो, दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध । पछिल्लो समय भारत र पाकिस्तानबीचको खेल हेर्न आईसीसी वा एसीसीको आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नुपर्छ ।

पछिल्लोपटक २०१३ मा भारत र पाकिस्तानले दुई देशीय शृंखला खेलेका थिए । संयोग, यी दुई टोली भारत र पाकिस्तान यूएईमा जारी एसिया कप क्रिकेटमा एकै समूहमा परेका छन् । र, आज यी दुई चीरप्रतिद्वन्द्वी आमने सामने हुँदैछन् ।

प्रतियोगितामा भारत सातपटकको विजेता टोली हो । पाकिस्तानले दुईपटक एसिया कपको उपाधि उचालेको छ । दुबै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तान ९ पटक आमनेसामने भएका छन् । त्यसमा भारतले सात खेल जितेको छ भने पाकिस्तानले २ खेल जितेको छ ।

पछिल्लोपटक २०२१ को ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । त्यसपछि भारतीय टोलीको चर्को आलोचना भएको थियो । भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा अर्को टोली हङकङ रहेको छ । त्यसकारण यस समूहबाट भारत र पाकिस्तानले सुपर–४ मा स्थान बनाउने लगभग पक्का छ ।

समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश तथा श्रीलंका छन् । दुबै समूहका शीर्ष दुई टोलीले सुपर–४ मा स्थान पक्का गर्नेछन् । ट्वान्टी–२० स्वरुपमा हुन लागेको प्रतियोगितामा भारत रोहित शर्माको कप्तानीमा हुनेछ भने पाकिस्तान बाबर आजमको कप्तानीमा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0