साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि सुरू हुँदै, उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्ने

समाचार

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आज मंगलबारदेखि काठमाडौंमा हुँदैछ । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल तुलनात्मक रुपमा सहज मानिएको समुह ‘बी’ रहेको छ । यो समुहमा नेपालसँगै श्रीलंका र भुटान छन् ।

यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । पाकिस्तानले साफ महिला फुटबल च्याम्पियनसिपमा ८ वर्षपछि सहभागिता जनाउन लागेको हो । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0