सन्दीप लामिछाने वेस्टइन्डिजबाट नेपाल नफर्किए के हुन्छ ?

समाचार

काठमाडौं । बलात्कारको आरोप लागेपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर प्रहरीले अनुसन्धान अगाडि बढाउने तयारी थालेको छ । एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध मंगलबार महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएसँगै प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने बाटो खुलेको छ ।

सन्दीप भने अहिले क्यारेबियन क्षेत्रमा छन् । उनी त्यहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि पुगेका हुन् । सीपीएलको यो सिजन सेन्ट किट्स एन्ड नेभिस र गुयानाले आयोजना गर्दैछन् । सन्दीप केन्यामा अभ्यास खेल खेलिरहेको नेपाली टोलीलाई छाडेर क्यारेबियन पुगेका हुन् । उनले यो सिजन सीपीएलका एक खेल पनि खेलेका छैन् । उनी आबद्ध जमैका तल्लावाजले बुधबार राति सेन्ट लुसिया किङ्ससँग खेल्दैछ ।

प्रहरीमा दर्ता भएको जाहेरी र बाहिर आइरहेका समाचारलाई लिएर सन्दीपले कुनै प्रतिक्रिया जनाएका छैनन् । न त जमैका तल्लावाजले नै त्यसबारे केही उल्लेख गरेको छ । सन्दीप तत्कालै आफूमाथि लागेको आरोपका कारण नेपाल फर्किएर अनुसन्धानका लागि उपलब्ध हुन सक्छन् ।

सन्दीप तत्काल नेपाल नफर्किएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको सहयोग लिन सक्नेछ ।
इन्टरपोललाई डिफ्युजन नोटिस जारी गर्न लगाएर सन्दीपलाई पक्राउ गरी नेपाल ल्याउन सक्ने बाटो नेपाल प्रहरीसँग छ । नाबालिग बलात्कारमा ३ वर्षको हद म्याद भएकाले प्रहरीले ३ वर्षभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएर अभियोगपत्र अदालतमा दर्ता हुनुपर्नेछ । आरोपीलाई पक्राउ नगरि पनि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउन सक्नेछ ।

जाहेरी मात्र दर्ता भएको र आरोपी विदेशमा रहेको अवस्थामा पनि प्रहरीले अहिले प्राविधिक तवरले अनुसन्धानहरू गरिरहेको छ । स्रोतका अनुसार बलात्कार भएको भनिएको होटल, सीसीटीभी फुटेज, कल्स डिटेल्सलगायत विषयमा प्रहरीले बुझ्ने काम गरिरहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
1
Tagged