युरोपा लिग : रोनाल्डोको गोलमा म्यानचेस्टरको जित

समाचार

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले करिअरमा पहिलोपटक युरोपा लिगमा गोल गरेको दिन म्यानचेष्टर युनाइटेडले बिहीबार राति शेरिफ टिरास्पोललाई २–० ले हराएको हो ।

यूईएफए च्याम्पियन्स लिगमा कीर्तिमानी गोल गरेका रोनाल्डोले ३९औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । ३७ वर्षे रोनाल्डोको जारी सिजन यो पहिलो गोल हो । त्यस्तै रोनाल्डोको क्लब प्रतियोगितामा यो ६९९औं गोल हो । त्यसअघि युनाइटेडले १७औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो ।

‘‘गोल गरेर टिमलाई जिताउन पाएकोमा खुसी छु ! महत्वपूर्ण तीन अंक !,’’ रोनाल्डोले ट्विटरमा लेखेका छन् । रोनाल्डोले सिजनको सुरुमा च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण युनाइटेड छाड्न चाहेको बताएका थिए । च्याम्पियन्स लिगमा रोनाल्डोले १४१ गोल गरिसकेका छन् । पोर्चुगलका स्ट्राइकर रोनाल्डो युरोपा लिग खेल्न चाहदैनथे । तर, गत ‘ट्रान्सफर विन्डो’मा अर्को क्लब स्थानान्तरण हुन नसकेपछि रोनाल्डो युनाइटेडमा बस्न बाध्य भएका थिए ।

रोनाल्डोले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनबाट २००२ पछि पहिलोपटक युरोपा लिग खेलेका हुन् । रोनाल्डो गत साता युरोपा लिगमै रियाल सोसिडाडसँग १–० ले पराजित हुँदा पनि टिमको पहिलो रोजाइमा परेका थिए । त्यसअघि युनाइटेडले प्रिमियर लिगमा लगातार चार खेल जित्दा रोनाल्डो बेन्चमा थिए । बेलायतकी रानी इलिजावेथ द्धतियको निधनका कारण गत साता प्रिमियर लिगका खेलहरू स्थगित भएका थिए ।

जितसँगै युनाइटेडले युरोपा लिगको समूह ‘ई’मा तीन अंक जोड्न सफल भएको छ । ६ अंक जोडेको रियाल सोसिडाड शीर्ष स्थानमा छ । सोसिडाडले गएराति साइप्रसको ओमोनिया निकोसियालाई २–१ ले हराएको थियो ।

प्रिमियर लिगकै अर्को क्लब वेष्ट ह्याम युनाइटेडले पनि डेनमार्कको सिल्केबोर्गलाई ३–२ ले हरायो । जितसँगै ६ अंक जोडेको वेष्ट ह्याम समूह ‘बी’को शीर्ष स्थानमा छ । बेल्जियमको एन्डरलेच्ट ४ अंकका साथ दोस्रो स्थानमा छ । एन्डरलेच्टले गएराति रोमानियाको क्लब एफसी एफसीएसबीसँग गोलरहीत बराबरी खेलेको थियो ।

इटालियन सिरी ‘ए’को क्लब लाजियो भने डेनमार्कको मिड्जेल्यान्डसँग ५–१ ले पराजित भयो । समूह ‘एफ’मा नेदरल्यान्ड्सको फेयोनोर्डले अष्ट्रियाको स्टर्म ग्रेजलाई ६–० ले हरायो । समूह ‘एफ’मा चारै क्लबले समान तीन अंक जोडेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0