अज्ञात स्थलबाट सन्दीपले भने : ‘मलाई फँसाउन गम्भीर षड्यन्त्र भयो, नेपाल फर्कदैछु’

समाचार

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ। लामिछाने सम्पर्कविहीन भएपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको प्रहरीले जनाएको छ।

उनले लेखेका छन्- १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरू लगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छु।

मविरूद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरूद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरूद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।

क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ, नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ। चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमानदार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महशुस भएको छ।

मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ। साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरूद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक समेत छ।

म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवाआमा, दाजुभाइ, मित्रहरू र क्रिकेट प्रेमीहरू, मेरा समर्थकहरू प्रति आभार व्यक्त गर्दछु। म वा मविरूद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।’

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।

त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।

सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0