लिभरपुलसँग हार्यो म्यानचेस्टर सिटी, सलाहको उत्कृष्ट गोल

फुटबल

काठमाडौं । दोस्रो हाफमा मोहम्मद सलाहले गरेको उत्कृष्ट गोलमा लिभरपुलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई १–० ले हराएको छ । सिटीको भने जारी लिगमा यो पहिलो हार हो ।

खेल सकिन १४ मिनेट बाँकी हुँदा गोलकिपर एलिसन बेकरले दिएको लामो पासमा सलाहले विपक्षी रक्षक जोओ कान्सेलोलाई बिट गर्दै अगाडि बढाएर गोल गरेका थिए । सलाहको त्यही गोल लिभरपुलको जितमा निर्णायक बन्यो । साथै २०१२÷१३ को सिजनपछि लिगमा सबैभन्दा खराब सुरुवात गरेको लिभरपुलले महत्वपूर्ण जित हासिल गरेको छ ।

इजिप्टका फरवार्ड सलाह पनि पछिल्लो समय गोलका लागि संघर्ष गरिरहेका थिए । तर, च्याम्पियन्स लिगमा गत बुधबार राति रेन्जर्सविरुद्ध कीर्तिमानी ह्याट्रिक गरेपछि सलाह पनि लयमा फर्किएका थिए । लिभरपुलले रेन्जर्सलाई ७–१ ले हराएको थियो ।

“हामी राम्रो स्थितिमा छैनौँ । यो केबल एक खेल हो । त्यसैले हामीले यो प्रदर्शनलाई जारी राख्नु पर्छ । आशा छ कि यसले हामीलाई थप आत्मविश्वास दिनेछ,’’ सालाहले भने, ‘‘आज हामीले मौकाहरू सिर्जना गर्यौं । जब मैले पहिलो मौका गुमाए । म शान्त थिएँ, किनभने मलाई थाहा थियो कि दोस्रो मौका पनि आउँछ । पहिलोपटक अवसरलाई सदुपयोग गर्न नसकेका कारण मैले ध्यान केन्द्रित गरेर गोलमा परिणत गर्ने प्रयास गरेको थिए । र म भाग्यशाली भएँ ।’’

त्यसअघि, सिटीले ३३ औँ मिनेटमा फिल फोडानको गोलबाट अग्रता लिएको थियो । तर, भिडियो सहायक रेफ्री (भीएआर) त्यसलाई मान्यता दिएन । फोडानले गोल गर्नुअघि नै हालान्डले फाबिन्होलाई फाउल गरेका थिए । लिभरपुलले घरेलु मैदानमा अपराजित यात्रालाई २८ खेलसम्म कायम राखेको छ । खेल सकिन चार मिनेट बाँकी हुँदा लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रातो कार्डको सामना गरेपछि टचलाईनबाट हट्नु परेको थियो ।

जितपछि ९ खेलबाट १३ अंक जोडेको लिरभपुल आठौँ स्थानमा छ । जुन चौथो स्थानको चेल्सीभन्दा ६ अंकले पछाडि हो । त्यस्तै, शीर्ष स्थानको आर्सनलभन्दा १४ अंकले पछाडि हो । पराजित सिटी भने १० खेलबाट २३ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ । तेस्रो स्थानको टोटनहमले पनि समान २३ अंक जोडेको छ ।

आर्सनलले आइतबार राति लिड्स युनाइटेडलाई १–० ले हराएको थियो । चेल्सीले एष्टन भिल्लालाई २–० ले हराउँदा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । साउथह्याम्पटन र वेष्टह्यामले पनि १–१ को बराबरी खेलेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0