बार्सिलोनाको सहज जित, लेवान्डोस्कीले ६०० गोलको आँकडा पार

फुटबल

काठमाडौं । रोबर्ट लेवानडोवस्कीले आफ्नो करिअरको ६ सयौँ गोल पार गरेको खेलमा बार्सिलोनाले बिहीबार राति स्पेनिस ला लिगामा भिल्लारियलविरुद्ध ३–० को विजय हासिल गरेको छ । आइतबार एल क्लासिकोमा रियल मड्रिडसँग ३–१ ले पराजित बार्सिलोनाले गएराति क्याम्प नोउमा पहिलो हाफको अन्त्यतिर सात मिनेटको अन्तरालमा तीन गोल गरेको थियो ।

लेवानडोवस्कीले ३१औं मिनेटमा जोर्डी अल्बाको क्रसमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लियो । ३५औं मिनेटमा पाब्लो गाभीको पासमा लेवानडोवस्कीले अग्रता दोब्बर बनाए । जुन लेवानडोवस्कीको करिअरमा ६०१ गोल हो । ३४ वर्षे लेवानडोवस्की सन् २००० यता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि करिअरको ६०० गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् ।

बायर्न म्युनिखबाट ४ करोड २६ लाख पाउण्डमा यसै सिजनको सुरुमा बार्सिलोना आएका लेवानडोवस्कीले सबैखाले प्रतियोगितामा १४ खेलमा १६ गोल गरिसकेका छन् । अन्सु फातीले ३८औं मिनेटमा अर्को गोल थपेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । पहिलो हाफमा गरेको त्यही अग्रता बार्सिलानालाई तीन अंक जोड्न पर्याप्त भयो ।

जितपछि १० खेलबाट २५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा यथावत छ । बार्सिलोना शीर्ष स्थानका रियाल मड्रिडभन्दा तीन अंकले पछाडि छ । पराजित भिल्लारियाल १५ अंकका साथ नवौँ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0