हुँदै नभाको नो बल दिएपछि….

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आईसीसी पुरूष टी–२० विश्वकप अन्तरगत भारत र पाकिस्तानविरुद्धको रोमाञ्चक खेलमा भारतले ४ विकेटको जित हात पारेको छ । विराट कोहलीको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले हारको मुखबाट जित निकाले हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो ।

अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो । मोहम्मद नवाजले पहिलो तीन बलमा एक विकेट लिँदै ३ रन मात्र दिएका थिए । तर, अन्तिम तीन बलमा उनले आफ्नो लय गुमाउन पुगे । चौंथो बलमा नोबलसहित छक्का हुनु नै म्याचको टर्निङ प्वाइन्ट रह्यो ।

भारतलाई जिताउन विराट कोहलीले आफ्नो जीवनकै एक उत्कृष्ट इनिङ खेले । एक समय निकै कठिन अवस्थामा रहेको भारतलाई उनले अविश्वसनीय तरिकाले खेलमा फर्काएका थिए । हार्दिक पाण्ड्यासँग उनले गरेको साझेदारी म्याचको निर्णायक बन्यो ।

विराटले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रन बनाउँदै अविजित रहे । सुरुमा उनले निकै सुस्त ब्याटिङ गरेका थिए । २४ बलसम्म एउटा पनि बाउन्ड्री लगाउन नसकेका १५ रन मात्र जोडेका थिए । त्यसपछिका २९ बलमा उनले ६७ रन थपे । उनको इनिङले निश्चित जितको बाटोमा रहेको पाकिस्तान अन्त्यमा आइपुग्दा स्तब्ध बन्यो ।

विराटलाई साथ दिँदै हार्दिक पाण्ड्याले ४० रन बनाए । विराट र हार्दिकबीच ११३ रनको उत्कृष्ट साझेदारी भएको थियो । त्यसअघि भारत ६।१ ओभरमा ४ विकेट गुमाएर ३१ रनको कमजोर अवस्थामा थियो । भारतका ओपनरहरू रोहित शर्मा र केएल राहुल सस्तैमा आउट भए भने सूर्यकुमार यादवले पनि कुनै चमत्कार गर्न सकेनन् ।

पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद नवाजले २ विकेट लिए भने नसिम साहले कसिलो बलिङ गर्दै एक विकेट लिए । सहिन साह अफ्रिदी आजको म्याचमा निस्प्रभावी बने । उनले ४ ओभरमा ३४ रन खर्चँदा कुनै विकेट लिन सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पनि खराब सुरुवात गरेको थियो । पाकिस्तानका कप्तान बबर आजम पहिलो बलमै डक आउट भए भने इन फर्म ब्याट्सम्यान मोहम्मद रिजवान पनि असफल भए ।

पाकिस्तानका लागि सान मसुद र इफ्तीकार अहमदले अर्धशतक बनाउँदै टिमलाई सम्मानजनक स्कोरतर्फ पुर्‍याएका थिए । १० ओभरमा ६० रन मात्र बनाएको पाकिस्तानले त्यसपछिको १० ओभरमा ९९ रन थपेको थियो । भारतका लागि अर्शदीप सिंह र हार्दिक पाण्ड्याले तीन– तीन विकेट लिए । यसै गरी, मोहम्मद सामी र भुवनेश्वर कुमारको खातामा एक–एक विकेट रह्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0