लियोनेल मेसी बार्सिलोनाको सट्टा अमेरिका जाने !

समाचार

काठमाडौँ । लियोनेल मेसीको पिएसजीमा यस सिजनको अन्त्यमा सम्झौता सकिदै छ । उनका विश्वभरका फ्यानहरुले उनी बार्सिलोना फर्किएको चाहना व्यक्त गरिरहेका छन् । तर मेसी भने बार्सिलोना फर्किने सम्भावना कम रहेको मिडिया रिपोर्टहरु आउन थालेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार मेसी पिएसजीको सम्झौता सकिएपछि अमेरिकन लिग खेल्न सक्ने बताइएको छ । मेसीका एजेन्टसमेत रहेका उनका बुबाले अमेरिकन क्लब इन्टर मियामीसँग सम्भावित सम्झौताको बारेमा छलफल गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

डेभिड बेकहमको एमएलएस फ्रेन्चाईजी क्लबले मेसीलाई भित्र्याउने पहल गरिरहेको छ । मेसीलाई अमेरिका लैजादा क्लब र लिग दुवैलाई ठुलो फाइदा हुने हुनाले यो पहल भइरहेको बताइएको छ ।

२०२१ को अगस्तमा सरप्राइजरुपमा मेसीले बार्सिलोना छोडेका थिए । तर अब उनको बार्सिलोनामा पुनरागमनका बारेमा अनेकौं अड्कल बाजी भइरहेका छन् । अमेरिका जाने चर्चाका बिच पिएसजीले मेसीलाई नयाँ अफर गर्ने योजना बनाइरहेको बताइएको छ । पहिलो सिजन निराशाजनक रहेपनि यस सिजनमा मेसीको उत्कृष्ट प्रदर्शनले पिएसजीको व्यवस्थापन उत्साहित रहेको छ ।

द एथलेटिकले मेसीका पिताले केहि महिना अघि देखि नै अमेरिका जाने विषयमा छलफल गरिरहेको उल्लेख गरेको छ । बेकहमसहित इन्टर मियामीका पार्टनर रहेका जर्ज र जोस मासले मेसीका पितासँग छलफल गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मेसीले अहिले विश्वकपमा ध्यान केन्द्रित गरिरहेकाले विश्वकपपछि नै उनले आफ्नो सम्झौता बारे निर्णय गर्ने तयारीमा रहेका छन् । बेकहामको नेतृत्वमा २०१८ मा स्थापना गरिएको इन्टर मियामीले २०२० मा मात्र एमएलएस डेभ्यु गरेको थियो । दुई बर्षको छोटो इतिहास भएको यस क्लबले यसअघि गोन्जालो हुगैन, किएरन गिब्स जस्ता खेलाडीलाई भित्र्याइसकेको छ । अब भने मेसीलाई भित्र्याएर क्लबले अमेरिकी लिगलाई नै नयाँ उचाईमा लैजाने तयारीमा जुटेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
4
+1
0
+1
1