साफ यू–१५ महिला च्याम्पियनसिपमा लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

फुटबल

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् ।

यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो बनाएको छ । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि भुटानलाई नै ७–० ले हराएको नेपालले घरेलु टोली बंगलादेशमाथि १-० गोलअन्तरको जित रचेको थियो ।

तीन टोली सम्मिलित प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा खेलाइएको छ । भुटानले नेपाल र बंगलादेशसँग दुवै खेलमा पराजित भएपछि नेपाल र बंगलादेशबीच हुने प्रतियोगिताको अन्तिम खेलले उपाधिको छिनोफानो लगाउनेछ ।

नेपालसँग पराजित भए पनि बंगलादेशले भुटानमाथि क्रमसः ८-० र ९-० को जित हासिल गरेको थियो । प्रतियोगितामा नेपालले अहिलेसम्म गोल ब्यहोरेको छैन । बंगलादेशसँग हुने अन्तिम खेल बराबरीमा रोके पनि नेपालले उपाधि जित्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
8
+1
0
+1
2
+1
0
+1
1
+1
0