अलमुताईरिले टिमबाटै लखेटेका रोहित चन्द बने नेपाली टिमको कप्तान

समाचार

काठमाडौं । पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लागि नेपाली टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् ।

मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।nरोहितले सन् २००९ मा प्यालेस्टाइन विरुद्ध १६ वर्षको उमेरमै नेपालका लागि डेब्यू गर्दै नेपालका लागि खेल्ने कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए । पछि विमल घर्ती मगरले उक्त कीर्तिमान तोडे ।

रोहितले नेपालका लागि ७५ खेल खेलेका छन् । उनी सर्वाधिक खेल खेल्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । नियमित कप्तान किरणले नेपालका लागि सर्वाधिक ८३ खेल खेलेका छन् ।

सुर्खेतका ३० वर्षीय रोहित हाल इन्डोनेसियन क्लब पर्सिक केडिरीबाट त्यहाँको लिग खेल्छन् । उनले सन् २००९ मा मछिन्द्र क्लबबाट घरेलु फुटबल करिअर सुरु गरेका थिए । त्यसपछि उनी भारतको आईलिग हुँदै इन्डोनेसियाको व्यवसायिक लिग खेल्न पुगेका हुन् ।

रोहितले हल एसीबाट आई लिग खेलेका थिए । त्यसपछि उनले इन्डोनेसियाको पीएसपीएस पेबनबरु, पर्सिजा जाकार्ताबाट खेलिसकेका छन् । रोहित मलेसियन क्लब टी(टिमबाट पनि खेलेका थिए ।

२३ सदस्यीय टिममा कप्तान किरणलाई बाहिर राख्दा नवयुग श्रेष्ठले भने पुनरागमन गरेका छन् । यसअघि असोज ११ गते दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको खेलमा नवयुग टिममा अटाएका थिएनन् ।

मैत्रीपूर्ण खेलका लागि किरणले नेपाल आउने चाहना देखाए पनि व्यस्त तालिकाका कारण उनलाई राष्ट्रिय टिमबाट बाहिर राखिएको नेपाली टिमका प्रशिक्षक कटुवालले बताए । राउन्डग्लास पञ्जाबमा आबद्ध किरण आई लिगका लागि हाल भारतमा छन् ।

नेपाली टोली :

गोलकिपर : विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, अरिक विष्ट, आभास लामिछाने
फरवार्ड : अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनील बल, रितिक खड्का, सुजल श्रेष्ठ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0