काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत आजको पहिलो खेलमा समूह ‘डी’ मा रहेका इंग्ल्यान्ड र क्रोएसियाबीच आज साँझ पौने ७ बजे वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुनेछ। उपाधिका दाबेदार मानिएका दुबै टिमकाे खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
क्रोएसिया गत विश्वकपको उपविजेता हो। त्यतिबेला इंग्ल्याण्डलाई नै सेमिफाइनलमा हराएर फाइनल पुगेको थियो। त्यतिबेला क्रोएसियाले अतिरिक्त समयमा पुगेको खेलमा इंग्ल्याण्डलाई २-१ गोलले हराएको थियो।
फरवार्ड ह्यारी केनको कप्तानीमा रहेको इंग्लिस टिममा युवा खेलाडी फिल फोडेन, मासोन माउन्ट र जाडोन सान्च जस्ता युवा प्रतिभाशाली खेलाडी छन् । उता क्रोएसियाको कप्तानी लुका मोडिरिकले गर्नेछन् ।
ईङल्याण्डले वेम्बलीमा अहिलेसम्म नै पनि ठुला प्रतियोगिताका खेलहरू हारेको छैन। वेम्बलीमा ईङल्याण्डले ११ खेल खेलेकोमा ७ खेलमा जित हात पारेको छ भने ४ बराबरीमा टुङ्गिएका छन् (पेनाल्टीबाट निर्णय भएका खेलहरूलाई मानिएको छैन) । त्यस्तै अर्को रमाइलो पक्ष ईङल्याण्डले अहिलेसम्म युरो फुटबलको पहिलो खेल जितेको छैन।