काठमाडौं : फ्रेन्च डिफेन्डर राफेल भरान इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ । म्यानचेस्टर युनाइटेडले भरानलाई भित्र्याउन रियल म्याड्रिडसँग सहमति भएको घोषणा गरेको छ ।
गोल डटकमका अनुसार फ्रेन्च डिफेन्डरलाई अनुबन्ध गर्न दुई क्लबबीच ५.७ करोड डलरमा सहमति भएको हो । ‘भेरानको विषयमा रियल मड्रिडसँग सहमति भइसकेको छ,’ युनाइटेडले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘अव स्वास्थ्य प्ररीक्षण र खेलाडीको सर्तका विषयमा छलफल हुन बाँकी छ ।’
भरान अहिले लण्डन आएको र क्वारेन्टाइनमा रहेको बताइएको छ । क्वारेन्टाइन अवधि सकिएपछि उनको युनाइटेडमा मेडिकल हुने भनिएको छ । भरान सन् २०११ मा फ्रेन्च क्लब लेन्सबाट रियल आइपुगेका हुन् ।
त्यसयता उनले रियलसँग ३ वटा ला लिगाको उपाधिका साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् । सन् २०१८ मा उनले फ्रान्ससँग विश्वकप जिते । हालसम्म उनले फ्रान्सका लागि ७९ खेल खेलिसकेका छन् ।