काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्याउने योजना रहेको सुनाए ।
‘क्रिकेट एकेडेमी सञ्चालन गर्ने सोचमा छु र त्यसलाई नेपालभर फैलाउने योजना छ’, पारसले भने, ‘अबको १/२ महिनामा लन्च (सार्वजनिक) गर्नेछु , राम्रोसँग एकेडेमी गरौँ भन्ने सोच छ ।’ आफू स्कुल लेभलको क्रिकेट प्रतियोगितामा लाग्ने योजना रहेको उनले सुनाए। नेपाली क्रिकेटको उज्वल भविष्यका लागि आफू लागेको बताउँदै उनले अहिले खेलाडी भएर काम गरेको र आगामी दिनमा व्यवस्थापनका क्षेत्रमा पनि आउन चाहेको बताएका छन् ।
‘मेरो पहिलो प्राथमिकता भनेको क्रिकेट संघको नेतृत्वमा आएर नेपाली क्रिकेटको सुधार गर्ने हो’, पारसले भने, तर, राम्रो अवसर आएको खण्डमा राजनीतिमा पनि देखिन सक्छु ।’ ‘अन्तर्राष्ट्रिय खेल जीवन सकिएपछि व्यवस्थापनमा आऊँला वा पदाधिकारीमा आऊँला, कोषाध्यक्ष होऊँला वा अध्यक्ष होऊँला। तर ममात्र भएर हुन्न अहिलेको स्टक होल्डरहरूले पनि उत्तिकै जिम्मेवारी लिनुपर्नेछ’, पारसले भने, ‘त्यो बाटो कठिन पनि छ। सजिलो पनि छ।’