काठमाडौं : बार्सिलोना फुटबल क्लबले आफ्नो स्टार खेलाडी लियोनेल मेस्सीलाई पेरिस सेन्ट जर्मन- (पीएसजी)मा आबद्ध हुनबाट रोक्न प्रयास शुरू भएको छ । डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ ।
‘फाईनान्सियल फेयर प्ले’को अवधारणा अन्तर्गत पिएसजीले मेसी अनुबन्धित गर्न नपाउने जिकिर गर्दै उक्त मुद्दा हालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। आम्दानी भन्दा बढी खर्च गर्न नपाउने अवधारणालाई ‘फाइनान्सियल फेयर प्ले’ भनिएको छ।
मेस्सीले आइतबार मात्र बार्सिलोना छाडेको घोषणा गरेका थिए। आफुले चाहँदा चाहँदै पनि बार्साको आर्थिक अवस्थाका कारण रहिरहन नमिलेको उनको भनाई थियो। त्यसयता फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीले मेस्सीलाई आबद्ध गर्ने लगभग पक्का भइसकेको समाचारहरु अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले लेखिरहेका छन्।
फाइनान्सियल फेयर प्लेको अनुपातमा पीएसजीको अवस्था बार्सिलोनाको भन्दा खराब भएको भन्दै यो सम्झौता हुन नसक्ने दावी गरिएको हो । बार्सिलोनाले आफ्नो फेयर प्ले अनुपात खराब रहेकै कारण मेसीलाई गुमाउनुपरेको बताएको थियो । ‘सन् २०१९-२० मा पीएसजीको तलब-आम्दानी अनुपात ९९ प्रतिशत थियो भने बार्सिलानोको ५४ प्रतिशत थियो । यसबीचमा यो अन्तराल बढेको छ ।’