काठमाडाैं : नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । त्यसअघि भुवनेश्वरको कालिंगा रंगशालामै बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको थियो।
बंगलादेशलाई जित दिलाउन मोहम्मद अहमत नोभाले २ गोल गरेका थिए। भारतका लागि हिमान्शु झांग्राले गोल गरे। खेलको २९औं मिनेटमा नोभाले पहिलो गोल गरेका थिए। उनले गोलरक्षक र डिफेन्सको समन्वयको कमजोरीको फाइदा उठाउँदै अग्रता दिलाएका थिए। तर, ३५औं मिनेटमा भारत खेलमा फर्कियो। परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको हिमान्शुले बराबरी गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी समयमा नोभाले अर्को गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरे। पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो। नेपालले भने पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो। जितसँगै नेपालको २ खेलबाट ६ अंक भएको छ। दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ। गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो।
भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन्। लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।