Categories
क्रिकेट

आईपीएल : हैदराबादसँग दिल्ली १५ रनले पराजित

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । गएराति भएको सिजनको तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । दिल्लीको जारी सिजनमा यो पहिलो हार हो।

सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले सर्बाधिक ३४ रन बनाए भने रिषव पन्तले ३२ रन बनाए । त्यस्तै शिमरन हेटमायरले २१ रन बनाए भने कप्तान श्रेयस अय्यरले १७ तथा मार्कोस स्टोइनिसले ११ तथा कागीसो रबाडाले १५ रन बनाए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका बलर राशिद खानले तीन विकेट लिए। उनले चार ओभरमा मात्र १४ रन खर्चिदै तीन विकेट लिएका थिए। त्यस्तै, भुवनेश्वर कुमारले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

राम्रो सुरुवात गरेको हैदरबादका लागि कप्तान डेविड वार्नर र जोनी बैरस्टवले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। जोनीले ५३ र वार्नरले ४५ रन बनाए। त्यस्तै, जारी आइपिएलमा पहिलो पटक टिममा परेको केन विलियम्सनले २६ बलमा ४१ रनको योगदान दिए। बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिए ।

जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । आइपिएलमा बुधबार राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ।

Categories
क्रिकेट

पञ्जाबविरुद्ध राजस्थानको कीर्तिमानी जित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किंग्स-११ पञ्जावमाथि राजस्थान रोयल्यले सनसनीपूर्ण जित निकालेको छ। आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

शारजाहाँ क्रिकेट स्टेडियममा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो । राजस्थानले ओपनर जोस बटलरलाई ४ रनमा गुमाएको थियो। तर, कप्तान स्टेभन स्मिथ र सन्जु सेमसनले इनिङ सम्हालेर टोलीलाई लक्ष्यतर्फ डोर्‍याएका थिए। २७ बलमा ७ चौका र २ छक्कासहित स्मिथले ५० रन बनाउँदा सेमसनले ४२ बलमा ४ चौका र ७ छक्कासहित ८५ रनको योगदान गरे।

यस्तै अन्तिम तीन ओभरमा जितका लागि ५१ रन चाहिएको अवस्थामा राजस्थानका राहुल टेवाटियाले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले १८औं ओभरमा पञ्जावका सेलडम कोट्रेलको बलमा पाँच छक्का हिर्काएका थिए।अर्को ‌ओभरमा आउट भएका उनले ३१ बलमा ७ छक्काको मद्दतमा ५३ रन जोडे। जुन राजस्थानका लागि कीर्तिमानी लक्ष्य भेट्टाउन महत्वपूर्ण सावित भयो। बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

पञ्जाबका लागि मयंक अग्रवालले १०६ रन बनाए । मयंकले ५० बलमा १० चौका र ७ छक्कासहित १०५ रन बनाएका हुन् । मयंकको यो शतक यस सिजनको आइपिएलको दोस्रो शतक हो । यस अघि पञ्जाबकै कप्तान केएल राहुलले सनराइजर्स हैदरावादविरुद्ध सतक प्रहार गरेका थिए ।त्यस्तै यस खेलमा केएल राहुलले ५४ बलमा ६९ रन बनाए भने निकोलस पुरनले ८ बलमा २५ र ग्लेन म्याक्सवेलले ९ बलमा १३ रन बनाएका थिए । पहिलो विकेटका लागि मयंक र कप्तान राहुलबीच १८३ रनको साझेदारी भएको थियो ।

जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ । एजेन्सी

Categories
फुटबल

म्यानचेस्टर सिटीको घरेलु मैदानमा लज्जाजनक हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग लज्जास्पद पराजय भोगको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे ।

यो जितसँगै लेस्टर लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार ब्यहोरेको छ ।
जितसँगै शीर्ष स्थानको लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ । सन् २००५ यता म्यान्चेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा पाँचगोल खाएको हो ।

सिटीको दुई खेलमा तीन अंक छ । यस्तै लिग अन्र्तगत गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वुल्भ्सलाई ४–०तथा लीड्सले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् । एजेन्सी

Categories
क्रिकेट

ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेपछि महिला क्रिकेटर उत्साहित

काठमाडौं । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भए । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको भन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भयो । साधारण सभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगाएतका विभिन्न विषय पारित भए ।

यो सँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताउनुभयो ।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागत योग्य भएको बताउनुभयो । महिला क्रिकेटमा लागेको लामो समय पछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यसो त नेपाल महिला क्रिकेट टोली दक्षिण एसियमा बलियो टिमका रुपमा हेरिन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदैे आएको छ । न्युन अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुत पनि महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छोडिरहेका छन् । कप्तान रुबिनाले भने जस्तै उप कप्तान सीता राना मगरले पनि ग्रेडिङ गरि महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

अन्तर्राष्ट्रिय नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) को लामो प्रतिबन्ध पछि फुकुवा भएको क्यानले आगामी दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालमा महिला क्रिकेटरको तुलनामा पुरुष क्रिकेटले फड्को मारिसकेको छ । तर महिला टोली पनि कम छैन् । मौका र यथेस्ट प्रतियोगिताबाट अनुभव पाए नेपाली महिला क्रिकेटले नेपालको नाम चम्काउनेमा कसैको दुई मत छैन ।

Categories
फुटबल

लगातार तीन जितसहित एभर्टन शीर्ष स्थानमा

काठमाडौं– एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो पटक जित निकालेको छ। शनिबार राति भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम क्रिस्टल प्यालेसलाई स्तब्ध बनाउने क्रममा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र रिचार्लीसनले गोल गरे। यता, क्रिस्टल प्यालेसका लागि चिखोउ कोउयटले गोल गरे। खेलको १०औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २६औं मिनेटमा कोउयटले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–१ गोलको बराबरी दिलाए।

४०औं मिनेटमा पेनाल्टीबाट रिचार्लीसनले गोल गर्दै एभर्टनलाई २–१ गोलको अग्रता दिलाए। पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको एभर्टनले दोस्रो हाफमा पनि यही नतिजालाई कायमै राख्दै जित निकालेको हो।

नयाँ सिजनको प्रिमियर लिगमा एभर्टनको यो लगातार तेस्रो जित हो। यसअघि प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा टोटेनहमलाई १–० ले र वेष्टब्रुमलाई ५–२ गोलअन्तरले पराजित गरेको थियो।

Categories
समाचार

दुर्घटनामा घाइते ललितलाई चितवन टाइगर्सबाट नगद सहयोग

काठमाडौं, (नेस) सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई चितवन टाइगर्सलगायतका संस्थाले उपचारका लागि नगद सहयोग गरेका छन्। तीव्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेस्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए।

अघिल्लो आइतबार साँझ उनी गृहनगर कञ्चनपुरमा सवारी दुर्घटनामा परेका थिए। उनी सवार मोटरसाइकल र विपरीत दिशाबाट आएको ट्रकमा ठोक्किएपछि गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट काठमाडौंको गान्डी अस्पताल ल्याइएको छ।

चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपियाँ ११ पैसा उपचारका लागि प्रदान गरेको हो। चितवन टाइगर्सका मालिक एवं लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्टराई, अध्यक्ष सुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमती ममतालाई चेक प्रदान गरेका हुन्।

सो अवसरमा चितवन टाइगर्सका मार्की एवं राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रूपाखेती पनि उपस्थित थिए। यसैगरी, अमेरिकास्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले ललितको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपियाँ प्रदान गरेको छ। राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम सोमपालमार्फत ललितकी श्रीमती ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो।

Categories
टेनिस

बियान्काले फ्रेन्च ओपन नखेल्ने

पेरिस, (एजेन्सी) हरेक वर्षमा दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको रूपमा हुने फ्रेन्च ओपनको मिति नजिकिए पनि खेलाडीले नाम फिर्ता लिने क्रम जारी रहेको छ। पेरिसमा हुने फ्रेन्च ओपनबाट नाम फिर्ता लिने पछिल्लो बियान्का एन्ड्रिस्कु पनि एक हुन्। २० वर्षीया बियान्का गत वर्षको यूएस ओपनको महिला सिंगल्स विजेता हुन्। यसअघि फ्रेन्च ओपनबाट शीर्ष महिला खेलाडी नाओमी ओसाका र एस्लिग बार्टीले नाम फिर्ता लिएका थिए।

बियान्काले अक्टोबर २०१९ देखि चोटका कारण कुनै पनि प्रतियोगितामा सहभागिता जनाएकी छैनन्। क्यानडाकी खेलाडीले भनिन्– ‘म २०२१ को प्रतीक्षामा छु, जसमा मेरो लक्ष्य ओलम्पिक स्वर्णसमेत हुनेछ। हाललाई भने म कुनै प्रतियोगितामा हुने छैन।’

बियान्काले गत वर्ष करियरकै पहिलो ग्रान्डस्लाम जितेपछि यस वर्षको अस्टे«लियन ओपन खेलेकी छैनन्। विम्बल्डन यस वर्ष रद्द गरियो। गत महिना सम्पन्न यूएस ओपनमा उनले उपाधि रक्षाका लागि कोर्टमा सहभागिता नभएर नाम फिर्ता लिएकी थिइन्।

Categories
अन्य खेल

नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडीको प्रशिक्षण आइतबारबाट आरम्भ हुने

काठमाडौं, ९ असोज । नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आईतबारबाट पुनः सुरु हुने भएको छ । यसअघि नेपाल ब्याडमिन्टन संघले साउनमा खेलाडीको प्रशिक्षण सुरु गरेको थियो ।

कोरोना महामारीका कारण सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै साउनमा सुरुभएको ब्याडमिन्टनको प्रशिक्षण स्थगित भएको थियो । अहिले कोरोनाको प्रभाव नियन्त्रणमा नरहे पनि पुनः प्रशिक्षण थाल्न लागिएको हो । संघका अनुसार अहिले उपत्यका भित्र रहेका १६ जना खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् ।

प्रशिक्षणको नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडी, प्रशिक्षक र सम्बन्धित व्यक्तिहरुको कोरोना परीक्षण समेत गरिसकिएको छ । सुरक्षित अभ्यासका लागि प्रशिक्षण हल पनि स्यानिटाइज गर्ने काम सकिएको संघले जनाएको छ । संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयमा प्रशिक्षण सुरु गर्न लागेको हो ।

यता, लामो समय बन्द रहेको सबै खेलका खेलाडीलाई प्रशिक्षणको स्वीकृति दिन राखेप पनि तयार देखिएको छ । कोरोना भाईरसको महामारीका कारण बन्द रहेको प्रशिक्षणलाई सुरु गर्न राखेप तयार देखिएको हो ।

सरकारले लागू गरेको लामो समयको लकडाउन र निषेधाज्ञाले खेलकुद गतिविधि अघि बढाउने चुनौती राखेप समक्ष रहेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले प्रशिक्षणको अनुमती दिन कुनै समस्या नभएको बताउँदै अर्को हप्तासम्म सबै खेलको प्रशिक्षण सुरु गर्ने गरी गहृकार्य भईरहेको बताउँनु भएको छ ।

Categories
क्रिकेट

चेन्नाईलाई हराउँदै दिल्ली आईपिएलको शिर्ष स्थानमा

काठमाडौं : सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा पुगेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई ४४ रनले हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो । उसका लागि फाप डु प्लेसिसले ४३ रन जोडे। केदार जादवले २६ रन जोडे भने कप्तान महेन्द्रसिंह धोनीले १५ रन र रवीन्द्र जडेजाले १२ रन बटुले।

कसिलो बलिङ गरेको दिल्लीका लागि कागिसो राबडाले ३, एन्रीच नोर्ट्जले २ र अक्षर पटेलले १ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर पृथ्वी शाले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। अर्का ओपनर शिखर धवनले ३५ रन जोड्दा पहिलो विकेटका लागि उनीहरुले ९४ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि ऋषब पन्तले ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए ।

बलिङतर्फ भने चेन्नाईका पियुष चावलाले दुई विकेट लिदा साम कुरनको नाममा एक विकेट रह्यो। दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो।

चेन्नईबिरुद्धको खेलमा पनि दिल्लीले नेपाली लगस्पिनर सन्दिप लामिछानेलाई बेञ्चमै राखेको थियो । आईपीएलको आठौं खेलमा आज सनराईजर्स हैदरावाद र कोलकत्ता नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् ।

Categories
क्रिकेट

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग शर्मनाक हार बेहोरेको छ । बिहीबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो । बैंग्लुरुको सुरुवात निकै खराब रह्यो । उसले मात्र ४ रनमा तीन विकेट गुमाएको थियो । बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे ।

यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बलिङतर्फ पन्जाबका लागि मुर्गान अश्विन र रवि विश्नोइले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै सेल्डोन कट्रेलले दुई विकेट लिँदा मोहमद स्वामी र गेलेन म्याक्सवेलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे । उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने । यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । बैंगलोरका बलर शिभम दुबेले २ विकेट लिए भने युजवेन्द्र चहलले एक विकेट लिएका थिए ।

जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । बैंगलोरको यो पहिलो हार हो । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । आइपिएलमा शुक्रबार दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ।