नेपाललाई पछि पार्दै बंगलादेश यु-२० साफ च्याम्पियनसिपको शीर्षस्थानमा

फुटबल

काठमाडौं : मिराजुल इस्लामको ह्याट्रिकमा बंगलादेश भारतमा जारी यु २० साफ च्याम्पियनसिपको शीर्ष स्थान उक्लिएको छ। प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा बंगलादेशले शुक्रबारको माल्दिभ्सलाई ४–१ ले पराजित गर्‍यो। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बंगलादेशलाई जिताउन इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले थप गोल गरे। माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।

पहिलो हाफमै चार गोल गरेको बंगालदेशले दोस्रो हाफमा १ गोल खाएको थियो। यो जितसँगै बंगलादेश तीन खेलबाट शतप्रतिशत अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेलमा अंकविहिन माल्दिभ्स तालिकाको चौथो स्थानमा छ।

यसअघि शुक्रबार नै भएको दिनको पहिलो खेलमा आयोजक भारतले पहिलो जित दर्ता गरेको थियो । प्रतियोगिताको दोस्रो खेल खेलिरहेको भारतले श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले चार गोल गरेको थियो। भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रार गुर्किरत सिंहले १-१ गोल गरे।

तेस्रो दिनको नतिजासँगै बंगलादेश शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा ९ अंक जोड्दै बंगलादेश फाइनलमा पुग्ने लगभग पक्का देखिन्छ। दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ। भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ। पुछारमा रहेका माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन्। ३ खेल हारेको श्रीलंका समूह चरणबाट बाहिरिंदा माल्दिभ्सको सम्भावना अंक गणितमा सिमित छ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। नेपालले अब ३१ जुलाईमा भारत र २ अगष्टमा बंगलादेशसँग खेल्नेछ। फाइनल ५ अगष्टमा हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0