एल क्लासिको : रियलको घरेलु मैदानमा बार्साको गोल वर्षा

फुटबल

काठमाडौं । पिइरे–इमेरिक औबमेयाङले दुई गोल गरेको खेलमा बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा शीर्ष क्लब रियाल मड्रिडमाथि ४–० को सानदार विजय हासिल गरेको छ । कार्लो एन्सेलोट्टीको रियाल मड्रिड घरेलु मैदानमा स्तब्ध बनेको हो । सान्टियागो बेर्नाबेउमा सम्पन्न एल क्लासिको खेलमा जाभी हर्नान्डेजको बार्सिलोनाले सुरुबाटै खेल नियन्त्रणमा राख्न सफल भएको थियो ।

बार्सिलोनाले २९औँ मिनेटमा औबमेयाङको गोलबाट अग्रता लिएको थियो । औबमेयाङले औसमाने डेम्बेलेको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । डेम्बेलेकै कर्नर पासमा रोनाल्ड अराउजोले हेडमार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफ सकिएलगत्तै एन्सेलोट्टीले दुई खेलाडी परिवर्तन गर्दै पुनरागमन गर्ने प्रयास गरे । टोनी क्रुजको स्थानमा इडुवार्डो कामाभिङ्गा र ड्यानियल कार्भाहालको स्थानमा मारियानो डियाजलाई मैदान छिराए ।

तर, त्यसको एक मिनेट बित्न नपाउँदै बार्सिलोनाले अर्को गोल थप्यो । औबमेयाङले पेनाल्टी क्षेत्रमा दिएको पासलाई फेरान टोरेसले कुनै गल्ती नगरी पोस्टको दिशा दिए । टोरेसले सुरुमै एक सुन्दर मौका गुमाएका थिए । ५१औँ मिनेटमा टोरेको पासमा औबमेयाङले अर्को गोल थपेपछि बार्सिलोना महत्त्वपूर्ण जित हासिल गरेको हो ।

हारका बाबजुद रियाल २९ खेलबाट ६६ अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ । जितपछि ५४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना रियालभन्दा १२ अंकले पछाडि छ । यद्यपि, बार्सिलोनाले एक खेल कम खेलेको छ । दोस्रो स्थानको सेभियाले २९ खेलबाट ५७ अंक जोडेको छ । २९ खेल खेलेको एट्लेटिको मड्रिड ५४ अंकका साथ चौथो स्थानमा छ ।

जाभीको प्रशिक्षणमा बार्सिलोनाले निरन्तर सुधारिएको प्रदर्शन गरिरहेको छ । लिगमा बार्सिलोनाको यो लगातार पाँचौँ जित हो । लिगमा बार्सिलोना पछिल्लो १३ खेलमा अपराजित छ । बार्सिलोनाले पछिल्लो सात खेलमा २४ गोल गरिसकेको छ । गएको अक्टोबरमा रोनाल्ड कोम्यान बर्खास्त हुँदा बार्सिलोना लिगको नवौँ स्थानमा थियो ।

‘‘यो नतिजा आउँछ भनेर हामीले सोचेका थिएनौँ । तर, हामी जित्छौँ भन्नेमा विश्वस्त थियौँ,’’ बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले भने, ‘‘उपाधि जित्ने थोरै सम्भावना कायमै छ । हामी अन्तिमसम्म त्यसका लागि लड्नेछौँ । त्यो एकदम कठिन छ । तर, फुटबलमा जे पनि हुनसक्छ ।’’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0