बेकह्यामको इन्टर मियामी क्लबले मेस्सीलाई भित्र्याउने

फुटबल

काठमाडौं । इन्टर मियामीले लियोनेल मेस्सीलाई भित्र्याउने प्रयास गर्ने क्लबका साझेदार जर्ज मासले बताएका छन् । डेभिड बेकह्यामसँग मेस्सीको सम्बन्धले उनलाई अनुबन्ध गर्न सहज हुने मासको भनाइ छ । अमेरिकामा एमएलएसको नयाँ इतिहास सुरु गर्न र फुटबललाई अझै लोकप्रिय बनाउन बेकह्यामले मास र उनको छोरा जोसेसँगै सन् २०१८ मा इन्टर मियामी क्लबको स्थापना गरेका थिए ।

उनले सुरुवातमा नै फुटबलका चर्चित हस्तीहरूलाई भित्र्याउने घोषणा गरेका थिए । हालसम्म ब्लेसी माटुइडी र गोन्जालो हिग्वाइनलाई क्लबले भित्र्याइसकेको छ । तर मेस्सीलाई क्लबमा ल्याउने उनको ठूलो सपना रहेको छ । मेस्सी हाल दुई वर्षको करार गरेर फ्रेन्च क्लब पीएसजीसँग आबद्ध रहेका छन् ।

बार्सिलोनामा १७ वर्ष बिताएका मेस्सीले दर्जनौँ उपाधि जित्दै नयाँ कीर्तिमान रचेका थिए । पीएसजीमा भने उनले अपेक्षित सुरुवात गर्न सकेका छैनन् । सुरुवाती २३ खेलमा उनले मात्र सात गोल गर्न सफल भएका छन् । आगामी ट्रान्सफर विन्डोमा मेस्सीले नयाँ क्लबको खोजी गर्ने अपेक्षा गरिएको छ । सात पटकको बालोन डिओर विजेताका लागि मियामी उपयुक्त गन्तव्य हुने बताइएको छ ।

के यो सम्भव छ भन्ने प्रश्नमा मास भन्छन्, ‘लियो अझै विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनको कला र सीप अझै कम भएको छैन । हामी मेस्सीलाई मियामीको खेलाडीको रूपमा हेर्न चाहन्छौँ । के यो सम्भव छ ? हेर्नुहोस्, हामी यसका लागि प्रयास गर्नेछौँ । म आशावादी छु । यो पुरा हुने सम्भावना पनि छ ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1