चार खेलअगावै पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

फुटबल

काठमाडौं । लियोनल मेसीले गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति लेन्सविरुद्ध १–१ को बराबरी खेल्यो । बराबरीका बाबजुद पीएसजीले चार खेल अगावै फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ । पीएसजीको यो दसौँ लिग उपाधि हो ।

पीएसजीमा मेसीको यो पहिलो सिजन हो । उनले गएराति नेइमारको पासलाई नियन्त्रणमा लिँदै ६८औं मिनेटमा गोल गरेका थिए । मेसीको गोलबाट अग्रता पीएसजीले त्यसलाई जोगाउन भने सकेन । पाहुना टोली लेन्सका कोरेन्टिन जेनले ८८औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरी खेले पनि पीएसजीका लागि उपाधि जित्न अंक पर्याप्त थियो । २०१३ पछि पीएसजी लिग वानमा च्याम्पियन बनेको यो आठौं पटक हो ।

पीएसजीले दोस्रो स्थानको मार्शेविरुद्ध १६ अंकको अग्रता लिएको छ । मार्शेले अब लिगमा ५ खेल खेल्न बाँकी छ । मार्शेले सबै खेल जितेर पीएसजीले सबै खेल हारे पनि पीएसजी एक अंकले अगाडि हुनेछ । त्यसैले पीएसजीको उपाधि पक्का भएको हो । पीएसजीको यो दसौँ उपाधि हो । फ्रेन्च लिग वानमा यसअघि सेन्ट इटिने र मार्शेले मात्र दश पटक उपाधि जितेको थियो । गत वर्ष पीएसजीलाई रोक्दै लिलेले उपाधि जितेको थियो ।

‘‘गत सिजन हामीले उपाधि जित्न सकेनौं । त्यसले हामीलाई धेरै दुखी बनाएको थियो,’’ पीएसजीका कप्तान माक्विनहोसले भने, ‘‘त्यसकारण यो उपाधि जितेकोमा हामी सक्दो धेरै खुशी मनाउनेछौं ।’’ मेसीले बार्सिलोनाबाट ३५ उपाधि जितेका थिए । त्यसमा अब लिग वानको उपाधि पनि थपिएको छ । मेसी यसै सिजनको सुरुमा बार्सिलोनाबाट पीएसजी आएका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0