काठमाडौं । नेपाली स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेअर अफ दी मन्थ’मा मनोनयनमा परेका छन् । ओमानमा भएको आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि ‘प्लेयर अफ द मन्थ’को मनोनयन सूचिमा परेका हुन्।
प्लेयर अफ द मन्थका लागि सन्दीपसँग बंगलादेशी स्पिनर नसुम अमद र अमेरिकी विस्फोटक ब्याट्सम्यान जस्करण मल्होत्रा पनि नोमिनेसनमा परेका छन्। आईसिसीका प्लेयर अफ द मन्थको नोमिनेसनमा पर्ने सन्दीप दोस्रो नेपाली क्रिकेटर हुन्। यसअघि नेपाली ओपनर कुशल भुर्तेल पनि नोमिनेसनमा परेका थिए।
सन्दीपले आईसीसी डिभिजन–२ अन्तर्गत ओमानमा भएको त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । सिरिज अन्तर्गत सन्दीपले ४ खेल खेलेका थिए । त्यस्तै, सिरिजअघि भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २ खेल खेलेका थिए । सन्दीपले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए । उनको इकोनोमी ७ दशमलव ३८ रहेको थियो ।
यता, बंगलादेशका स्पिनर नासुमले अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलो पटक पाँच टि२० आई सिरिज जिताउन ८ विकेट लिएका थिए। यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ। आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ। दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ। यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ।