पोखरालाई हराउँदै चितवन पहिलो पटक ईपीएलको फाइनलमा

क्रिकेट

काठमाडौं : क्वालिफायरमा पोखरा राइनोजलाई हराउँदै चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो।

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे । बलिङतर्फ पोखराका लागि नन्दन यादवले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए। सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए। लोकेश बम ५,सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए। कप्तान विनोद भण्डारी र नन्दन यादव शून्यमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे।

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट झारे । याे खेल हारे पनि पाेखराले दाेस्राे क्वालिफायरकाे माैका पाएकाे छ । आजै हुने एलिमिनेटरकाे विजेतासँग पाेखराले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा भैरहवा ग्लाडियटर्स र काठमाण्डाै किङ्ग्स इलाभेन खेल्दैछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0