ढाकामा नेपाली चेलिहरुको कमाल जारी, भुटानमाथि ४-० को शानदार जित

फुटबल

काठमाडौं । मेनुका आलेमगरको दुई गोल प्रेरित नेपालले शुक्रबार यू–१९ महिला साफ च्याम्पियनसिपमा भुटानलाई ४–० ले हराएको छ । जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले तीन खेलबाट सात अंक जोडेको छ ।

यसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र बंगलादेशको समान सात अंक छ । तर, नेपाल गोल अन्तरमा अगाडि भएको हो । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल र बंगलादेश पहिलो संस्करणको पनि फाइनल खेल्ने टिम हुन् ।

बंगलादेशले पनि आजै भारतलाई १–० ले हराएको थियो । नेपालले भने आइतबार भारतविरुद्ध खेल्नेछ । बंगलादेशले कमजोर प्रतिद्वन्द्वी श्रीलंकाविरुद्ध खेल्नेछ । आइतबारको नतिजाले नेपालको फाइनल यात्रा पनि टुंगो लाग्नेछ ।

बंगलादेशको ढाकास्थित बीर श्रेष्ठ शाहीद शाइपही मोस्तफा कमल रंगशालामा मेनुकाले गरेको गोलबाट नेपालले दोस्रो मिनेटमै अग्रता लिएको थियो । मेनुकाले सबिता रानामगरको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएकी थिइन् ।

१८औँ मिनेटमा कुशुम खतिवडाले रोजिना श्रेष्ठको पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । २१औँ मिनेटमा रजनी थोकरले तेस्रो गोल थपिन् । ७२औँ मिनेटमा कुशुमको पासमा मेनुकाले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रतियोगितामा नेपालले १० गोल गरिसकेको छ भने एक गोल पनि खाएको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0