रोनाल्डोले दुई गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए

फुटबल

काठमाडौं : क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा युनाइटेडले इटालियन क्लब एटलान्टासँग २-२ गोलको बराबरी खेलेको हो।

दुई साताअघि पनि एटलान्टाविरुद्ध नै रोनाल्डोले ओल्ड ट्राफोर्डमा अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले ३–२ को विजय हासिल गरेको थियो । उक्त खेलमा युनाइटेडले पहिलो हापमा दुई शून्यले पछि परेको स्थिति उल्टाएको थियो ।

एटलेटी अज्युरी डी’इटालिया स्टेडियममा खेलको १२ औं मिनेटमा जोसिप इलिकको गोलले एटलान्टाले अग्रता बनाएको थियो। तर, पहिलो हाफको इन्ज्युरी समयमा म्यान्चेस्टरका क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा पुर्‍याए।

दोस्रो हाफको सुरुवातमा नै डुभान जापाटाले इटालिन टोलीलाई पुनः अग्रता दिलाए । हारतर्फ अघि बढिरहेको युनाइटेडका लागि इन्जुरी समयमा दोस्रो गोल गर्दै रोनाल्डोले खेल पुनः बराबरी गरे ।

यो समूहको अर्को खेलमा भिल्लारियलले योङ्ग ब्वाइजलाई २-० ले हराएको छ। समूहमा युनाइटेड ४ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको भिल्लारियलको पनि ७ अंक नै छ। तेस्रो स्थानको एटलान्टाको ५ अंक र पुछारको योङ्ग ब्वाइजको ३ अंक छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0