खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई जाभीले लयमा फर्काउने आशा

फुटबल

काठमाडौं । स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना खराब नतिजाबाट गुज्रिएको अवस्था छ । हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ । टोलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलोनाले तीन साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोना उत्साहित बनेको छ ।

४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मैदानमा सेल्भा भिगोसँग ३–३ गोलको बराबरीमा चित्त बुझाएको थियो । उक्त खेलमा बार्सिलोना पहिलो हाफमै तीन गोलको अग्रता लिएर पनि अंक बाँड्न बाध्य बनेको थियो । सेल्टा भिगोसँगको खेलपछि कडा रुपमा प्रस्तुत भएका जाभीले टिम सुधारका लागि नयाँ योजना बनाएका छन् ।

जाभीले खेलाडीलाई खेलाडीको शैलीमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् । जाभीले भनेका छन, ‘सेल्टा भिगोसँग जे भयो, त्यो ठीक भएन । पहिलो हाफमा तीन गोलले अगाडी रहेर पनि खेल बराबरीमा टुंगिन्छ भने त्यो पक्कै राम्रो होइन ।’ जाभीले आफ्ना खेलाडीलाई बार्सिलोनासँग आवद्ध हुन पाएकोमा गर्व गर्न अनुरोध समेत गरेका छन् ।

१७ बर्ष खेलाडीको रुपमा बार्सिलोनामा विताएका जाभीले आठ पटक स्पेनिस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले सन् २०१५ मा बार्सिलोना छाडेका थिए । उनी पछिल्लो समय कतारी क्लब अल सादमा आबद्ध भएका थिए । जाभीले सन् २०१० मा स्पेनलाई विश्वकप उपाधि जिताउनुका साथै दुई पटक युरोपियन च्याम्पियनसिप समेत जिताएका थिए ।

जाभीको प्रशिक्षणमा उत्साहित देखिएको बार्सिलोना अबका खेलमा सुखद नतिजा निकाल्ने तयारीमा जुटेको छ । खेलाडीलाई कडा अभ्यास गराई रहेका जाभी आगामी खेलमा लगातार जित निकाल्ने योजनामा छन् । बार्सिलोनाले भर्खर ब्राजिलियन रक्षक ड्यानी आल्भेसलाई क्लबमा अनुबन्ध पनि गरेको छ ।

बार्सिलोना अहिले १७ अंक सहित लिग तालिकाको नवौं स्थानमा छ । १२ खेल सकेको बार्सिलोनाले चार जित, पाँच बराबरी र तीन हार खेपेको छ । ला लिगाको आफ्नो १३औं खेलमा बार्सिलोनाले शनिबार राति घरेलु मैदानमा स्पान्योलसँग प्रतिस्पर्धा गर्दैछ । फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु भने शुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0