बार्सिलोनाका पेड्रीलाई ‘गोल्डेन ब्वाई’ अवार्ड

फुटबल

लन्डन, (एजेन्सी) । स्पेन तथा बार्सिलोनाका युवा स्टार मिडफिल्डर पेड्रीले यस वर्षको ‘गोल्डेन ब्वाई’ अवार्ड जितेका छन् ।अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्डका जुड बेलिङघमलाई पछि पारे । पेड्रीले ३१८ अंक प्राप्त गरेका हुन् । यसपटकको अवार्डको मतदानमा ४० पत्रकारले मतदान गर्दा २६ जनाका लागि पेड्री पहिलो रोजाइमा परेका थिए । ९ जनाले दोस्रो रोजाइमा मतदान गर्दा तेस्रो रोजाइमा मतदान गर्ने ३ जना मात्रै रहेका थिए ।

पेड्रीले दोस्रो स्थानमा रहेका इंग्लिस युवा खेलाडी जुडे बेलिङघमलाई भारी मतान्तरले पछि पार्दै यो अवार्ड जितेका हुन् । अवार्डको इतिहासमा पहिलो र दोस्रो हुनेबीच यति धेरै मतान्तर भएको यो पहिलोपटक थियो । अवार्ड जितेपछि भिडियो सन्देशमा पेड्रीले यस ट्रफीको लागि टुटोस्पोर्ट्सलाई धन्यवाद व्यक्त गरेका छन् ।

पेड्रीले आउँदो डिसेम्बर १३ मा एक समारोहका बीच उक्त अवार्ड ग्रहण गर्नेछन् । इटालियन पत्रिका टुट्टो स्पोर्ट्सले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका युवा खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ । यो १९औं संस्करण हो ।पेड्री २०२० मा दोस्रो डिभिजनको लास पाल्मासबाट बार्सिलोना आएका थिए । उनले गत सिजन बार्सिलोनाका लागि ५३ खेल खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएका थिए ।

पेड्रीले स्पेनबाट युरोकप खेलेका थिए । यस्तै, टोकियो ओलम्पिकमा रजत जित्दा उनी टोलीका प्रमुख सदस्य थिए । चोटका कारण गत सेप्टेम्बरयता उनी खेलेका छैनन् । उनले बार्सिलोना, स्पेनबाट अन्तर्राष्ट्रिय खेल र टोकियो ओलम्पिकसहित कुल ७३ खेल खेले । उनी गत सिजन युरोपको शीर्ष लिगहरूमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीसमेत बनेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0