घरेलु मैदानमा कमजोर फ्रान्कफुर्टसँग ३–२ ले पराजित हुँदै बार्सिलोना युरोपा लिगबाट बाहिरियो

फुटबल

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३–२ ले पराजित भएपछि बार्सिलोना समग्रमा ४–३ ले पराजित हुँदै बाहिरिएको हो ।पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको अवस्थामा समग्रमा फ्रान्कफुर्ट ४–३ को परिणाम निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

फ्रान्कफुर्टका लागि फिलिप कोस्टिकले दुई तथा राफेल सान्तोसले एक गोल गरे । यस्तै, बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फिलिपले पेनाल्टीबाट गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा राफेलले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । ६७ औं मिनेटमा फिलिपले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफुर्टलाई ३–० ले अग्रता दिलाए ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि बार्सिलोनाका डिपेले पेनाल्टीमार्फत एक गोल फर्काएपनि बार्सिलोना ३–२ ले पराजित भयो । इन्जुरी समयको दशौं मिनेटमा इभानले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटियो ।

सेमिफाइनलमा अब फ्रान्कफुर्टको भिडन्त इंग्लिस क्लब वेष्ट ह्याम युनाइटेडसँग हुनेछ । क्वाटरफाइनलमा फ्रान्सको ओलम्पिक लियोंलाई समग्रमा ४–१ ले पराजित गर्दै वेष्ट ह्याम युनाइटेड सेमिफाइनलमा उक्लिएको हो । युरोपा लिगका अन्य खेलहरुमा पोर्चुगलको स्पोर्टीङ ब्रागालाई समग्रमा ३–२ ले पराजित गर्दै स्कटल्याण्डको रेन्जर्स तथा इटालीको एटलान्टालाई ३–१ ले पराजित गर्दै जर्मनीको आर.बी लेप्जीग पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0