चेल्सीविरुद्ध खेल्ने म्यानचेस्टर युनाइटेडको टिममै परेनन् रोनाल्डो

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार हुने चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई टिममा राखेका छैनन् । ‘‘क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा शनिबार हुने चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडको टोलीमा रहने छैनन् । बाँकी टिम त्यस खेलको तयारीमा पूर्ण रूपमा केन्द्रित छ,’’ युनाइटेडले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको बुधबार युनाइटेडले टोटनहमलाई २–० ले हराउँदाको खेलमा रोनाल्डो बेन्चमा थिए । प्रशिक्षक टेन ह्यागले तीन खेलाडी परिवर्तन गर्दा रोनाल्डोलाई खेलाउन जरुरी ठानेनन् । त्यसबाट रुष्ट बनेका रोनाल्डो खेल सकिन केही मिनेट बाँकी हुँदै बेन्च छाडेर ड्रेसिङ रुममा फर्किएका थिए । ह्यागले रोनाल्डोको उक्त व्यवहारबारे बिहीबार नै छलफल हुने बताएका थिए । उनले आफ्नो ध्यान टिमको प्रदर्शनमा केन्द्रित रहेको बताएका छन् ।

बुधबार रोनाल्डोले गरेको व्यवहारको व्यापक आलोचना भएको थियो । युनाइटेडका पूर्वगोलकिपर पिटर स्मिचेलले पनि ‘३७ वर्षीय रोनाल्डो ओल्ड ट्राफोर्डमा विचलित भएको’ बताएका छन् । रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा फोटो रोखेर लेखेका छन्, ‘‘मैले आफूले प्रतिनिधित्व गरेका सबै टोलीमा हुर्केका युवाका लागि आफूलाई उदाहरण दिने प्रयास गरेको छु । दुर्भाग्यवश, यो सधैँ सम्भव हुँदैन । अहिले मलाई लाग्छ कि मैले क्यारिङटनमा कडा परिश्रम गरिरहनुपर्छ ।

मेरो टोलीका साथीहरूलाई समर्थन गर्नुपर्छ । कुनै पनि खेलमा सबै कुराको लागि तयार हुनुपर्छ । दबाबमा हार मान्नु विकल्प होइन । यो कहिल्यै थिएन । यो म्यानचेस्टर युनाइटेड हो र एकजुट भएर हामी उभिनुपर्छ । चाँडै हामी फेरि सँगै हुनेछौँ ।’’ दोस्रोपटक युनाइटेड फर्किएका रोनाल्डोले गत सिजन सबै प्रतियोगितामा गरी २४ गोल गरेका थिए । तर, पोर्चुगलका फरवार्डले जारी सिजन दुई गोल मात्र गरेका छन् । पाँचपटकको बालोन डी’अर अवार्ड विजेता रोनाल्डोले एभर्टनविरुद्धको खेलमा करियरको ७००औँ गोल गरेका थिए ।

पहिलोपटक युनाइटेडमा हुँदा तीन प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । रोनाल्डोले पोर्चुगललाई सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । युनाइटेड जारी सिजन प्रिमियर लिगमा १० खेलबाट १९ अंक जोडेर पाँचौँ स्थानमा छ । त्यो चौथो स्थानमा रहेको चेल्सीभन्दा एक अंकले पछाडि हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1