ब्राजिलको प्रशिक्षक बन्न लागेका हुन् पेप ग्वार्डिओला ?

समाचार

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ब्राजिल राष्ट्रिय टोलीको प्रशिक्षकको दावेदारका रुपमा रहेको समाचार प्रकाशित भइरहँदा ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले औपचारिक प्रस्ताव नगरेको प्रष्ट पारेको छ ।स्पेनिस अखबार मार्काले यो साता ब्राजिलले ग्वार्डिओलालाई १० मिलियन युरोको वार्षिक पारिश्रमिक प्याकेजसहित प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो ।

ब्राजिली प्रशिक्षक टिटेले कतार विश्वकपपछि पद छाड्ने बताइसकेका छन् । ब्राजिल फुटबलको नियामक निकायले उनको प्रतिस्थापनका लागि उपयुक्त उम्मेदवार खोजिरहेको छ । फुटबलसम्बन्धी वेवसाइट गोल डटकमका अनुसार स्पेनिस ग्वार्डिओलालाई अहिलेसम्म औपचारिक प्रस्ताव गरिएको छैन । सीबीएफले टिटेको उपयुक्त प्रतिस्थापनका लागि उपलब्ध व्यक्तिहरुको मूल्यांकन गरिरहेको छ ।

सीबीएफका पूर्व अध्यक्ष रोजेरियो काबोलोको मनपर्ने प्रशिक्षकमध्ये ग्वार्डिओला पनि एक हुन् । साथै वर्तमान अध्यक्ष एडलाल्डो रोड्रिग्वेज पनि टिटेको स्थानमा विदेशी प्रशिक्षक नियुक्त गर्ने विपक्षमा छैनन् । टीएनटी स्पोर्टससँगको संक्षिप्त कुराकानीमा ग्वार्डिओलाले ब्राजिलको प्रशिक्षक नबन्ने प्रष्ट पारेका छन् । ‘ब्राजिलमा राष्ट्रिय टोली सम्हाल्न सक्ने धेरै राम्रा घरेलु प्रशिक्षक छन् । योभन्द अरु केहि भन्नु छैन,’ ग्वार्डिओलाले भने ।

यो वर्षको अन्तिममा हुने कतार विश्वकपपछि टिटेले ब्राजिलको प्रशिक्षक जिम्मेवारीबाट बाहिरिने निर्णय गरेका छन् । ६०वर्षीय टिटेले सन् २०१६ देखि ब्राजिल टोली प्रशिषण गर्न थालेका हुन् । उनी प्रिमियर लिग टोली आर्सनलमा अनुबन्ध हुने सम्भावना छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0