बोहमसँग बायर्नको लज्जास्पद हार

फुटबल

काठमाडौं । जर्मन बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिख शनिबार बोहमसँग ४–२ ले पराजित भएको छ । बोहमले बायर्नलाई हराएको १८ वर्षमा यो पहिलोपटक हो । रोबर्ट लेवनडोवस्कीले दुई गोल गरे पनि बायर्नलाई हारबाट जोगाउन सकेनन् । युलियन नागेल्समनको बायर्नले नवौं मिनेटमै लेवनडोवस्कीको गोलबाट अग्रता लिएको थियो । तर, त्यो अग्रता जोगउन भ्रमणकारी बायर्न असफल भयो ।

क्रिष्टोफर एन्टवी–एडजेईले १४औं मिनेटमा बराबरी गोल फर्काए । योर्गान लोकाडियाले ३८औं मिनेटमा गरेको गोलबाट बोहमले अग्रता लियो । बोहमका क्रिष्टियन गाम्बियाले ४०औं मिनेटमा अर्को गोल थपे । ४४औं मिनेटमा गेरिट होल्टमनले चौथो गोल गरेपछि बोहमले ४–१ को अग्रता बनायो ।

७५औं मिनेटमा लेवनडोवस्कीले गोल गर्दै अन्तर घटाए पनि बायर्नले पुनरागमन गर्न सकेन । बोहमले २००७ मा उल्फ्सबर्गलाई ५–३ ले हराएयता जर्मन बुन्डेसलिगामा चार गोल गरेको यो पहिलो हो । बायर्नले यसअघि गत सेप्टेम्बरमा बोहमलाई घरेलु मैदानमा ७–० ले हराएको थियो । बायर्नले यसअघि बोहम भ्रमणको आठ खेलमा विजय हासिल गरेको थियो । तर, शनिबार राति त्यही नतिजा निकाल्न सकेन ।

पराजित बायर्न २२ खेलबाट ५२ अंक जोडेर लिगको शीर्ष स्थानमा कायमै छ । जुन दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा ९ अंकले अगाडि हो । तर, डर्टमण्डले एक खेल कम खेलेको छ । बोहम २८ अंक जोडेर ११औं स्थानमा छ ।

शनिबार जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडबचले औसबर्गलाई ३–२ ले हरायो । उल्फ्सबर्गले फ्रांकफर्टलाई २–० ले हराउँदा मेइन्ज र फ्रेइबर्गले १–१ को बराबरी खेले । ग्रेउथर फुर्थले हेर्था बर्लिनलाई २–१ ले हरायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0