मच्छिन्द्रलाई लिग च्याम्पियन बनाउने सुनील बल बने लिगको सर्वोत्कृष्ट खेलाडी

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । च्याम्पियन मच्छिन्द्र क्लबका खेलाडी सुनील बल शहीद स्मारक ए डिभिजन लिग २०७८ को सर्वोत्कृष्ट खेलाडी घोषित भए । पहिलो पटक नेपालको शीर्ष डिभिजनको लिग जितेका सुनीलले सर्वोत्कृष्ट खेलाडीको अवार्डसँगै ३ लाख रुपैयाँ पुरस्कार पनि पाए ।

च्याम्पियन मच्छिन्द्रले लिगको उपाधि रक्षा गर्नका लागि यस सिजन क्लबमा केही खेलाडीहरु भित्र्याएको थियो । फरवार्ड एडेलाजा सोमिडे र दीपक राई मनाङ मर्स्याङ्दी नै फर्किएपछि मच्छिन्द्रले राष्ट्रिय टिमका दुई युवा खेलाडी सुनील बल र मनिष डाँगीलाई अनुबन्ध गरेको थियो । यस्तै गत सिजन अन्तिम खेल खेलेका विमल घर्ती मगरलाई पनि मछिन्द्रले टिममै राख्यो ।

अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ । ​एपीएफविरुद्ध एक गोल बेहोरेका मछिन्द्रका गोलकिपर विशालले यस सिजन पहिलो पटक ओपन प्लेमा गोल खाएका हुन् । विशालले एक हजार एक सय ८४ मिनेटपछि गोल खाएका हुन् ।

विशालले यसअघि लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध गोल खाएका थिए । एनआरटीविरुद्ध ५४औं मिनेटमा फरवार्ड एरिक विष्टले फ्रिकिकमा मछिन्द्रविरुद्ध गोल गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभिषेक गुरुङले मछिन्द्रलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा एन्ड्रेज चोङ्केउले निकालेको थ्रु बलमा अभिषेक गोल गरे ।

तर, प्रदीप लामाले ७०औं मिनेटमा गोल गरेपछि एपीएफ खेलमा फर्किएको थियो । ८१औं मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि मछिन्द्रले २–१ को जित निश्चित गर्‍यो । त्यसअघि सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबका विक्की तामाङले गरेको पासमा आशिष लामाले छैटौं मिनेटमा गोल गर्न सकेनन् ।

मछिन्द्र फुटबल क्लबका विशाल राईको एक्रोभेटिक सर्टमा अभिषेक रिजालको २१औं मिनेटमा गरेको प्रहार एपीएफका युया कुरियामाले उत्कृष्ट बचाउ गरे । त्यसको चार मिनेटपछि विशालले दिएको क्रस पासलाई विमल घर्ती मगरले राम्रो सदुपयोग गर्न सकेनन् । उनले गरेको फितलो प्रहार बाहिरियो । एपीएफका प्रदीप लामाले ३८औं मिनेटमा ६ यार्डबाट क्रस गरे पनि आशिष लामाले भेटाउन सकेनन् । पहिलो हाफको अन्तिम तीन मिनेटमा गोल खाएपछि एपीएफ दोस्रो हाफमा केही आक्रामक बनेको थियो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0