नेपाली यू-१८ टिमकी कप्तान प्रिती भन्छिन्- ‘भारतबाट उपाधि लिएर आउँछौं’

समाचार

काठमाडौं : भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । एन्फा मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर महिला टोलीलाई बिदाई गरेको हो ।

बिदाई पछि बोल्दै नेपाली टोलीकी कप्तान प्रिति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी छन् । नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिरहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भएपनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।

लगातार दुई संस्करणको उपाधि बिजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदैछ । महिला टोलीलाई उपाधि दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बञ्चित भएको थियो । तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दै छन् ।

च्याम्पियनसिपका लागि टोली शनिबार भारत प्रस्थान गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
2
+1
0
+1
0