बुढेस्कालमा धोनी चम्किदा मुम्बईको ७ खेलमा ७ हार

आईपिएल क्रिकेट

काठमाडौं, वैशाख ९ : भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गत विजेता चेन्नई सुपर किंग्स (सिएसके) ले दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई तीन विकेटले हराउँदै चेन्नईले दोस्रो जित निकालेको हो ।

आफ्नो सातौँ खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अम्बाती रायडूले ४०, रोबिन उथप्पाले ३०, महेन्द्रसिंह धोनीले अविजित २८, ड्वेन प्रिटोरियसले २२, शिवम् दुबेले १३ र मिचेल सान्टनरले ११ रन बनाए ।

चेन्नईको जितमा धोनी र प्रिटोरियसले उत्कृष्ट फिनिसिङ गरे । अन्तिम ओभरमा चेन्नईलाई जितको लागि ६ बलमा १७ रनको आवश्यकता थियो । यस ओभरको पहिलो बलमा चेन्नईले प्रिटोरियसलाई गुमायो । दोस्रो बलमा ड्वेन ब्रावोले एक रन लिँदै धोनीलाई स्ट्राइक दिए ।

धोनीले तेस्रो बलमा छक्का र चौथो बलमा चौका हिर्काउँदै खेलाई जित नजिक पुर्याए । पाँचौं बलमा उनले दुई रन जोडे । धोनीले अन्तिम बलमा चौका हिर्काउँदै चेन्नईलाई रोमाञ्चक जित दिलाए ।

मुम्बईका लागि डानियल साम्सले चार, जयदेव उनादकटले दुई र रिले मेरिडिथले एक विकेट लिए । त्यसअघि डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

उसका लागि तिलक वर्माले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा अविजित ५१ रन बनाए । जारी लिगमा तिलकको यो दोस्रो अर्धशतक हो ।

त्यस्तै, जयदेव उनादकटले ९ बलमा एक चौका र एक छक्कासहित अविजित १९ रनको योगदान दिए । सूर्यकुमार यादव ३२, ऋतिक शोकिन २५ र किरण पोलार्ड १४ रनमा आउट भए । कप्तान रोहित शर्मा र इशान किशनले भने खाता खोल्न सकेनन् ।

चेन्नईका लागि मुकेश चौधरीले तीन, ड्वेन ब्रावोले दुई, महेश थिक्क्षणा र मिचेल साइटनरले एक/एक विकेट हात पारे । यो जितसँगै चेन्नईले चार अंक जोडेको छ । ऊ अंक तालिकाको नवौँ स्थानमा छ । यता पाँचपटकको आइपिएल विजेता मुम्बईको भने यो लगातार सातौँ हार हो । योसँगै प्लेअफ पुग्ने मुम्बईको सपना लगभग समाप्त भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0